एजेन्सी ५ काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । यो सिजनको क्वाटरफाइनलमा पुगेका ८ टिमको ड्र गएराति भएको हो ।
खेल समिकरण अनुसार पहिलो पटक क्वाटरफाइनल पुगेको इङ्लिस क्लब लेस्टर सिटीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पधा गर्ने भएको छ । पहिलो लेगमा पराजित भएको लेस्टर दोस्रो लेगमा सेभिल्लालाई हराएर क्वाटरफाइनल पुगेको हो । यस्तै साबिक विजेता रियल मड्रिडले सेमिफाइनल प्रवेशका जर्मन क्लब वार्यन म्युनिखको समना गर्नेछ ।
बार्यन र रियलबिच हालसम्म युरोपका विभिन्न प्रतियोगितामा २२ पटक भेट भएको छ । जसमा रियलले ९ तथा बार्यन म्युनिखले ११ खेलमा जीत निकालेको छ । यस्तै ऐतिहासिक पुनरागमन गर्दै अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले इटालियन क्लब युभेन्टसको सामना गर्दा फ्रेन्च क्लब मोनाकोले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पधा गर्नेछ ।
बार्सिलोना र युभेन्टसबिच यसअघि सन् २०१५ को फाइनलमा भेट भएको थियो जसमा बार्सिलोनाले ३–१ को जीत निकालेको थियो ।बार्सिलोना र युभेन्टसबिच हालसम्म सात खेलमा प्रतिस्पर्धा भएको छ जसमा बार्सिलोना तीन तथा युभेन्टस दुई खेलमा विजयी भएको छ । क्वाटरफाइनलको पहिलो लेग आगामी अप्रिल ११ र १२ तथा दोस्रो लेग अप्रिल १८ र १९ मा हुनेछ ।
Comments