काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान तथा अमेरिकी क्लब इन्टर मायमीका मालिक डेविड बेकह्यामका जेठो छोरा रोमियो बेकह्यामले व्यावसयिक फुटबलमा डेब्यु गरेका छन् ।
रोमियोले तोर्मेन्ताविरुद्ध खेलमा सुरुवाती एघारमा रहेर डेब्यु गरेका थिए । उनले ७९ मिनेट मैदानमा बिताएका थिए । रोमियो मैदानमा रहँदा २-१ को अग्रतामा रहेको टोली अन्तिम समयमा गोल खाँदै २-२ को बराबरीमा रोकिएको थियो । रोमियोले आफ्नो पिता डेविडझैं राइट विंगमा खेलेका थिए ।
यसै महिना फोर्ट लाउडरडेलमा अनुबन्धित हुँदै करिअरको पहिलो व्यावसायिक सम्झौता गरेका रोमियोले आइतबार डेब्यु गरेका हुन् । फोर्ट लाउडरडेल डेविड मालिक रहेको मेजर लिग सकरको इन्टर मायमीको रिजर्भ टोली हो । हाल यो क्लबले अमेरिकी लिगको तेस्रो श्रेणी यूएसएल लिग वनमा प्रतिस्पर्धा गरिरहेको छ ।
रोमियोले खेल अवधिभर १९ पटक बल छोएका थिए । उनले ५७ औं मिनेटमा सहकर्मी हार्भी नेभिलसँग राम्रो आक्रमण बुनेका थिए । रोमियोको क्रसमा हार्भीको हेडर पोस्टभन्दा थोरै टाढाबाट बाहिरिएको थियो । हार्भी इन्टर मायमीका मुख्य प्रशिक्षक तथा पूर्व खेलाडी फिल नेभिलका छोरा हुन् ।
रोमियोले डेब्यु गर्न पाउँदा निकै खुसी रहेको बताएका छन् । ‘व्यावसायिक डेब्यु गर्न पाउँदा निकै भाग्यमानी महसुस गरेको छु । अब अर्को खेलमा ध्यान हुनेछ,’ उनले इन्स्टाग्राममा लेखेका छन् । फोर्ट लाउडरडेल लिग तालिकामा आठौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ६ बुधबार
Comments