काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा भर्खर एउटा ठूलो खेलको सामना गरेको एसी मिलानले आइतबार इटालीको सिरी ए मा अर्को उत्तिकै ठूलो खेल आत्मसात् गर्नेछ । मिलान आफ्नो प्रमुख प्रतिद्वन्द्वी युभेन्ट्सको भ्रमणमा निस्कनेछ र त्यस अगाडी उसको मनमा लिभरपुलसँग बेहोरेको हारको पीडा हुनेछ ।
मिलानले लिभरपुलविरुद्ध अग्रता लिएर पनि त्यस खेललाई गुमाएको थियो र यो सन् २०१४ यता क्लबले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हार बेहोरेको हो । सात पल्टको विजेताका लागि यो पक्कै नमीठो हार थियो । यसको ठीक विपरित युभेन्ट्सले भने च्याम्पियन्स लिगमै माल्मोमाथि ३-० को जित निकालेको छ ।
यस्तोमा युभेन्ट्ससामु मिलानको घरेलु लिगमा राम्रो सुरुआतलाई रोक्ने अवसर हुनेछ । यसपल्ट फेरि मासिमिलानो एलेग्रीको नेतृत्वमा रहेको युभेन्ट्स घरेलु लिग उपाधिको बलियो दावेदार मानिएको छ । तर, पनि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोलाई गुमाएयता लिगमा भने राम्रो गर्न सकेको छैन् र उसको तीन खेलबाट एक अंक मात्र छ ।
त्यही कारण युभेन्ट्स अविश्वसनीय रूपमा १६ औं स्थानमा छ । लिगका अन्य प्रमुख खेलमा इन्टर मिलानले बोलोग्ना र एटलान्टाले सालरनिटानाको सामना गर्नेछ । यस्तै भेरोनाले एस रोमाको आथित्य गरेक दिन आइतबार लाजियोले भने कागलिरीसँग घरमा खेल्नेछ । तर यस साताको प्रमुख खेल मिलान र युभेन्ट्सबीचको प्रतिस्पर्धा नै हो । एएफपी
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments