काठमाडौं । टमी अब्राहमले रोमाका लागि घरेलु मैदानमा पहिलो गोल गरेको खेलमा इटालियन क्लबले युरोपा लिग फुटबलमा बुल्गेरियन क्लब सीएसकेए सोफियालाई हराएको छ । बिहिबार राति समूह सीमा रोमाले सीएसकेए सोफियालाई ५-१ गोल अन्तरले हराएको हो ।
जोसे मौरिन्होको नेतृत्वमा रोमाले पछिल्लो ६ मध्य सबै खेलमा जित निकालेको छ । आयरिसम्यान गा्रहम केरीको गोलमा पाहुना टोलीले खेलमा अप्रत्यासित अग्रता लिएको थियो । लोरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काएको खेलमा स्टेफन एल शारवीले रोमालाई अग्रता दिलाएका थिए ।
जिआनलुका मन्सिनी र पेलेग्रिनीले पुन गोल गर्दै रोमालाई ४-१ को सहज अवस्था पुर्याएका थिए । रोमाका लागि अन्तिम गोल अब्राहमको नाममा रह्यो ।
२३ वर्षिय इङ्ल्याण्डका फरवार्डले पछिल्ला ५ खेलमा २ गोल गरेका छन् । उनी यसै सिजन चेल्सीबाट रोमा आएका हुन् । रोमाले गरेका ४ गोलमा अब्राहमको भुमिका छ । उनले दुई गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका छन् ।
रोमाले नयाँ सिजनको सुरुवाती सबै ६ खेलमा जित निकालेको छ । रोमाले सिरि एमा ३ र युरोपा लिग छनोटमा ३ खेलमा जित आत्मसाथ गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments