काठमाडौं । ताजिकिस्तानमा अर्को महिना आयोजना हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु-२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म हुनेछ । प्रशिक्षक महर्जनले बोलाएका ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका छन्।
७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा पुगिसकेका छन् । सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगी कतारमा रहेका छन् । साफ च्याम्पियनसिप १ अक्टोबरदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
पहिलो चरणको प्रशिक्षणमा रहेका ४८ खेलाडीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन् । टोलीको प्रशिक्षण सोमबारदेखि हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । छनोटको समूह ‘बी’ मा नेपाल, आयोजक ताजिकिस्तान, इरान र लेवनान छन्।
प्रकाशित मितिः २०७८ भाद्र २७ आइतबार
Comments