काठमाडौं । इङ्ल्याण्डले विश्वकपको युरोपियन छनोटमा बराबरी खेल्दै अंक बाँडेको छ । अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्याण्डले पोल्याण्डसंग बराबरी खेल्दै अंक बाडेको हो ।
बुधबार राति पोल्याण्डले खेलको अन्तिम समयमा गोल फर्काउदै इङ्ल्याण्डसंग अंक खोस्न सफल बन्यो ।
इङ्लिस टिमका ह्यारी केनले ७२ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेमियन स्जिमास्कीले बराबरी गोल फर्काए ।
इङ्ल्याण्डले मुख्य फरवार्ड लेवान्डोस्कीलाई कडा निगरानीमा राखेको थियो । तर खेलको अन्तिम मिनेटमा उनले उत्कृष्ट क्रस निकाल्न भ्याए ।
ग्यारेथ साउथगेटको टिमले पोल्याण्डलाई खेल अवधिभर दबाबमा राखेको थियो । घरेलु टिमविरुद्ध इङ्ल्याण्डले उत्कृष्ट प्रर्दशन गरेको थियो । तर खेलको अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्याण्डले निराशाजनक बराबरी ब्यहोर्न पुग्यो ।
समूह आइको शीर्ष टिम इङ्ल्याण्डले दोस्रो स्थानको अल्बानियासंग ४ अंकको अग्रता लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २४ बिहिबार
Comments