काठमाडौं । मेम्फिस डेपेको पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा शानदार जित निकालेको छ ।
मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६-१ गोल अन्तरले हराएको छ ।
नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरे । डेपेको ह्याट्रिकसंगै नेदरल्याण्ड्स समुह चरणको छनोटमा शीर्ष स्थानमा उक्लिएको छ ।
डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए । बार्सिलोनाका फरवार्डले लगातार तीन गोल गर्दै नेदरल्याण्ड्सलाई ४–० को अग्रता दिलाए ।
गुस तिल र डोनियल मालेनले थप एक एक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे । २७ वर्षिय डेपे जोहान क्रुइफ र अबे लेन्स्ट्रासंगै ३३ गोलसंगै नेदरल्याण्ड्सको आठौं सर्वाधिक गोलकर्ता बनेका छन् ।
बार्सिलोनाका फरवार्डले पछिल्ला १० खेलमा देशका लागि १२ गोल गरेका छन् । नेदरल्याण्ड्सले पछिल्लो खेलमा मोन्टेनेग्रोविरुद्ध प्राप्त गरेको ४-० को जितमा समेत डेपेले दुई गोलको योगदान गरेका थिए ।
लेस्टर सिटीका कागलर सोयुन्कु रातो कार्ड खादै मैदान बाहिरिएपछि टर्कीले दोस्रो हाफ १० खेलाडीमा सिमित बनेर खेलेको थियो । दोस्रो हाफको इन्जुरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काएका थिए ।
जित सहित नेदरल्याण्ड्स १३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेसँग अंक बराबर भएपनि गोल अन्तरका आधारमा डच टिम अघि बढेको हो । नेदरल्याण्ड्सले ६ खेलमा १६ गोल गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २३ बुधबार
Comments