काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोटको खेल रोकिनुलाई खेदपूर्ण भनेको छ ।
फिफाले लाखौं दर्शक खेल हेर्नबाट बञ्चित रहेको उल्लेख गर्दै खेल रोकिनु खेदपूर्ण रहेको बताएको हो । आईतबार खेल सूरु भएको केही मिनेटमा स्थगित भएको थियो । अर्जेन्टिनी तीन खेलाडीले क्वारेनटाइनको नियम तोडेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीले मैदानमा हस्तक्षप गरेका थिए ।
फिफाले खेलका अधिकारीबाट पहिलो रिपोर्ट प्राप्त भएको भन्दै अनुशासन निकायबाट घटनाको विश्लेषण गरिने बताएको छ । स्थगित बनेको खेलको पुन मिति सार्वजनीक गरिएको छैन ।
ब्राजिलका स्वास्थ्य अधिकारीले इङ्ल्याण्डबाट आएका चार अर्जेन्टिनी खेलाडीले क्वारेन्टाइनको नियम तोडेको आरोप लगाएका थिए । ती चार खेलाडीबाट एमिलियानो बेन्डिया, एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र गोभानी लो सेल्सो र टोटेनहमका क्रिस्टियन रोमेरो रहेका छन् ।
मार्टिनेज, लो सेल्सो र रोमिरोले साउ पावलोमा सुरुवाती सेटमै रहेर मैदान उत्रिएका थिए । अर्जेन्टिनी फुटबल संघले सोमबार बिज्ञप्ति निकाल्दै चार खेलाडी क्लबमा फर्किरहेको र बेलायतको क्वारेन्टाइन नियमका कारण उनीहरुले प्रिमियर लिगको यस हप्ताका खेलहरु गुमाउने बताएको थियो ।
‘फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित गर्ने कदममा खेद व्यक्त गर्दछ । जसले लाखौं प्रशंसक र संसारभर रहेका महत्वपूर्ण दुई देशबीचको खेलको आनन्द लिन रोकेको छ ।’ उसले भनेको छ ।
‘खेलका अधिकारीले पहिलो रिपोर्ट फिफामा पठाएका छन् । प्राप्त जानकारीमा अनुशासन निकायले विश्लेषण गरेर उचित समयमा निर्णय लिनेछ ।’ फिफाले भनेको छ ।
सोमबार ब्राजिलको संघीय प्रहरीले नियम तोडेको आरोपमा अर्जेन्टिनी खेलाडीमाथि कारबाहीको औपचारिक छानविन सुरु गरिएको जनाएको छ ।
ब्राजिलको क्वारेन्टाइन नियम अनुसार बेलायतबाट आउने यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २२ मंगलबार
Comments