काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले भदौ यही २४ र २७ गते दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दुवै मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने जनाइएको छ ।
नेपालले एएफसी एसियन कप क्वालिफायर्सको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल एएफसी छनोटको समूह ‘एफ’मा छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि टिकटको मूल्य पनि तोकेको छ । भीआईपीतर्फको प्रतिटिकट मूल्य ५०० र साधारणतर्फको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र २० आइतबार
Comments