काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा सर्बियाले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा सर्बियाले लक्समवर्गलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे । निकोला मिलेन्कोभिचले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काए । यस्तै गेर्सन रोड्रिगेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्समवर्ग १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ । सर्बिया शीर्ष स्थानमा रहेको छ । लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नै रुसले साइप्रसलाई २-० ले हराएको छ । फिनल्याण्डले काजकिस्तानलाई १-० ले हराएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र २० आइतबार
Comments