काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अगाडि आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भनेका थिए, अबका दुई खेलमा पक्कै पनि केही आश्चर्य हुनेछन्, खेलाडीको छनोटलाई लिएर ।
यसको अर्थ थियो, उनले केही नयाँ अनुहारलाई मौका दिन सक्छन् । यस्ता आश्चर्य हुने अनुमान फ्याक्दा फुटबलमा रौनकता हुन्छ । धेरैको अनुमान थियो, सायद गोलरक्षक विशाल श्रेष्ठले मौका पाउने सक्ने छन् ।
विशाल त्यस्ता अभाग्यशाली खेलाडी हुन्, जसले लामो समयदेखि नेपाली राष्ट्रिय टिमको आवद्धता त पाएका छन्, तर डेब्युको अवसर अहिलेसम्म पाएका छन् । सम्भवतस् विशाल निराश रहेको हुनु पर्छ, किनभने उनले भारतविरुद्धको खेलमा फेरि मौका पाएनन् । तर नितिन थापाको प्रसंगमा यस्तै भावना फरक हुन्छ ।
उनी असाध्यै खुसी हुनु पर्छ, किनभने उनले भारतविरुद्धको त्यसै खेलबाट डेब्यु गरे । सब्टिच्युट खेलाडीका रूपमा उनले मैदान प्रवेश गरेका थिए, ८६ औं मिनेटमा ।
उनले तेज तामाङलाई रिप्लेस गरेका हुन् । अब नितिनले ढुक्क भएर दाबी गर्न सक्नेछन्, नेपालका लागि खेलेको भनेर । प्रशिक्षक अलमुताइरीले नेपाली टिम सम्हालेयता डेब्युको अवसर दिएका उनी छैटौं खेलाडी हुन् ।
यसअघि उनले गौत्तम श्रेष्ठ, मनीष डांगी, कमल थापा, सुरज ठकुरी र आयुष घलानलाई पनि पहिलो ‘क्याप’ को मौका दिएका थिए । वर्ष २०२१ कै मात्र कुरा गर्ने हो भने पनि नौ खेलाडीले नेपालका लागि पहिलो पल्ट खेल्ने अवसर पाइसके ।
यसमध्ये तीन खेलाडी यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले डेब्यु गर्न दिएका हुन् ।
प्रकाशित मितिः २०७८ भाद्र १९ शनिबार
Comments