काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजमा हुने यू–१९ एक दिवसीय विश्वकप खेल्न नपाउने भएको छ। कोरोना महामारीका कारण यू–१९ एसिया कप छनोट रद्द भएपछि नेपालले अर्को वर्ष हुने विश्वकप खेल्ने सपना टुटेको हो।
योसँगै नेपाल लगातार तेस्रोपटक विश्वकपबाट बाहिर रहन पुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोनाको कारण देखाउँदै छनोट खेल रद्द भएको जनाएको छ। एसिया छनोट नहुने भएपछि यसअघिका पाँच विश्वकप छनोटको आधारमा एसिया यू–१९ छनोटबाट यूएईले सिधै स्थान बनाएको छ।
अघिल्लो संस्करणको विश्वकप छनोटमा युएईले नेपाललाई डिएल मेथडमा १ रनले पराजित गरेपछि विश्वकपमा स्थान बनाएको थियो। सोही नजिताका कारण नेपालले यो संस्करण पनि गुमाउन पुगेको छ।
आईसीसीको यो नियमका साथ अमेरिकन क्षेत्रबाट क्यानडा र ईएपीबाट पपुवा न्युगिनीले पनि स्थान बनाएका छन्। सन् १९९८ बाट सुरु भएको यु–१९ विश्वकपमा नेपालले ७ पटक खेलिसकेको छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो।
प्रकाशित मितिः २०७८ भाद्र १० बिहिबार
Comments