काठमाडौं । लियोनल मेस्सी र नेइमार बिना पनि पेरिस सेन्ट जर्मेन पिएसजीले शानदार जित दर्ता गरिरहेको छ । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पिएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको छ । सो खेलमा पिएसजीले हाल अनुबन्धित गरेका मेस्सी तथा अर्का स्टार खेलाडी नेइमार मैदानमा थिएनन् ।
पिएसजीका लागि २३ औँ मिनेटमा हरेरा, ३६ औँ मिनेटमा केलियन एमबाप्पे, ७३ औँ मिनेटमा गुआई र ९० औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् । ब्रेस्टका लागि ४२ औँ मिनेटमा होनोरात र ८५ औँ मिनेटमा मोउनीले गोल गरे ।
यो महिना बार्सिलोना छोडेर पिएसजीमा अनुबन्धित भएका मेस्सीले अझै पिएसजीबाट खेल्न बाँकी छ । कोपा अमेरिकापछि बिदामा गएका मेस्सी र नेइमारले सिजनअघिको प्रशिक्षण ढिला सुरु गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ ०५ शनिबार
Comments