काठमाडौं । पेरिस सेन्ट जर्मेन, पिएसजीले लिग वानअन्तर्गत शुक्रबार राति ब्रेस्टसँग खेल्दै छ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल ब्रेस्टको मैदानमा हुनेछ ।
यस खेलमा पिएसजीले लियोनल मेस्सी र नेयमारलाई टोलीमा नराख्ने निश्चित छ । यसका साथै नेयमार पनि टोलीमा हुने छैनन् । हालैमात्र बार्सिलोना छोडेर फ्रान्स पुगेका अर्जेन्टिनी कप्तान मेस्सीले रेइम्सविरुद्धको खेलमा पिएसजीबाट डेब्यु गर्ने सम्भावना छ ।
फ्रान्स लिग वानअन्तर्गतको उक्त खेल रेइम्सको मैदानमा २९ अगस्टमा हुनेछ । रेइम्ससँगको खेलपछि उनी अन्तर्राष्ट्रिय ड्युटीमा फर्किने भएका कारण पनि उक्त खेलमा उनको डेब्यु निश्चित रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय ब्रेकमा मेस्सीले सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोटअन्तर्गत तीन राष्ट्रसँग खेल्ने छन् । अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ ।
गत मङ्गलबार स्पेनको २० वर्षे बसाइ अन्त्य गरेर फ्रान्सको राजधानी पेरिस बसाइँ सरेका मेस्सी हाल प्रशिक्षणमा छन् । कोपा अमेरिकाको उपाधि जितेपछि लामो छुट्टीमा बसेका मेस्सीले प्रि–सिजनका खेलका कुनै पनि खेल खेलेनन् । त्यसपछि स्पेन फर्किएका उनी बार्सिलोनाबाट भावुक हुँदै बिदा भएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ ०४ शुक्रबार
Comments