काठमाडौं । जेमी भार्डीले आफ्नो खेल जीवनको अधिकांस समय इंग्ल्यान्डको तल्लो डिभिजनमा बिताए । सन् २०१४ मा उनले इंग्लिस प्रिमियर लिगमा डेब्यु गर्दा उनको उमेर थियो, २७ वर्ष । लेस्टरका लागि उनको पहिलो खेल आर्सनलविरुद्ध थियो । त्यसमा उनले गोल गर्न सकेनन् । म्यानचेस्टर युनाइटेडविरुद्ध प्राप्त ५-३ जितमा उनले पहिलो पल्ट गोल गरे ।
त्यसपछि उनले फर्केर हेरेनन् र सबै भन्ने गर्छन्, भार्डीको कुरै बेग्लै । अहिले तत्काल प्रिमियर लिगमा जति पनि खेलाडीले खेलिरहेका छन्, त्यसमध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । उनले १ सय १९ गोल गरेका छन् । उनको माथि खालि ह्यारी केन मात्र छन्, १ सय ६६ गोलसँगै ।
यस सिजनको पहिलो खेलमा पनि भार्डीले गोल गरे, लेस्टरले उल्भ्समाथि प्राप्त जितमा । सिजनको उद्घाटन खेलमा भार्डीले गोल गरेको यो सातौं अवसर थियो । यो सूचीमा उनी भन्दा अगाडि एलान सिएरर, फ्रान्क लाम्पार्ड र वायन रोनी मात्र छन् । यी सबैले आठ गोल गरेका छन् । भार्डी भन्ने गर्छन्, ‘मलाई त प्रत्येक खेलमा गोल गर्ने इच्छा छ ।’
व्यवस्थापक ब्रेन्डन रोजर्स पनि भार्डीका प्रशंसक हुन् । भन्छन्, ‘उनमा गोलको भोक छ ।’ मूल धारका प्रमुख खेलाडीको नाम लिंदा किन हो, भार्डी प्रायस् छुट्ने गर्छन् । तर इंग्लिस घरेलु फुटबलमा उनको प्रदर्शन प्रत्येक सिजन उम्दा रहेको छ । तथ्यांकले यस्तै भन्छ । तथ्यांकले झुट बोल्दैन् र उसले पनि भन्छ, भार्डीको कुरै बेग्लै ।
प्रकाशित मितिः २०७८ भाद्र १ मंगलबार
Comments