एजेन्सी १९ फागुन । ला लिगाको विहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन्। उनले पत्रकार सम्मेलनमा केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने जानकारी दिए।
दुई साताअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) सँग नकआउट चरणको पहिलो लेगको खेलमा ४–० को पराजय भोगेपछि एनरिकको रणनीतिलाई लिएर प्रश्न उठ्दै आइरहेको थियो। पछिल्लो समय टिम छनोटदेखि अन्य कुरामा उनको सुनुवाई हुन छोडेको खबर स्पेनको विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक पनि भएको थियो।
एनरिकको बार्सिलोनामा यो तेस्रो सिजन हो। उनी घरेलु लिग ला लिगाको ह्याट्रिक गर्ने अभियानमा छन्। तर, च्याम्पियन्स लिगमा टोलीको खस्किदो प्रदर्शन नै उनको अवकासको मुख्य कारण बनेको बताइन्छ। क्लबले म माथि विश्वास देखाएर जुन जिम्मेवारी दियो, यसको लागि धन्यवाद। मेरो लागि क्लबको तीन वर्षको समय अविस्मरणीय रहनेछ, बार्सिलोना छोड्ने निर्णयबाट केही भावुक बनेका एनरिकले भने।
स्पेनका पूर्व मिडफिल्डर एनरिकले सन् १९९६ देखि २००४ सम्म बार्सिलोनाबाट खेलेका थिए। सन् २००८ देखि २०११ सम्म उनी बार्सिलोनाको ‘बी’ टोलीमा प्रशिक्षकको भूमिकामा जोडिए। बीचमा इटालीको रोमा र स्पेनकै सेल्टा भिगोको प्रशिक्षक बनेर उनी फेरि बार्सिलोना फर्किएका थिए। ४६ वर्षीय एनरिकले प्रशिक्षकबाट अवकास लिने निर्णय गरेपछि बार्सिलोनाका प्रभावशाली पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना पूर्व सहपाठीप्रति सहानभूती प्रकट गरेका छन्।
Comments