काठमाडौं । तीन वर्ष अगाडिसम्म स्पेनी ला लिगा युरोपेली फुटबलको राजा थियो । आज शुक्रबारदेखि लिगको नयाँ सिजन सुरु हुँदैछ र यसक्रममा उसले युरोपेली राजाको पद गुमाइसकेको छ । उसको प्रतिष्ठा पनि गुमेको छ । बरू लिग आफै गम्भीर समस्यामा छ । लियोनल मेस्सीलाई फ्रि-ट्रान्सफरमा गुमाएको ला लिगाको सबैभन्दा ठूलो समस्या हो, आर्थिक ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मेस्सीलाई गुमाएको बार्सिलोना नै सबैभन्दा बढी आर्थिक संकटा छ । उसको ऋण मात्रै पनि एक अर्ब २० करोड युरो पुगिसकेको छ । यो बार्सिलोनाको मात्र होइन, स्पेनी फुटबलकै लागि चिन्ता बनेको छ । आर्थिक संकटबाट मुक्त हुने पहिलो पाइला स्वरूपमा ला लिगाले खेलाडीको पारिश्रमिकको सीमा पनि तोकेको छ ।
बार्सिलोना मात्र होइन्, अधिकांस क्लब नयाँ आर्थिक स्रोत खोज्न ब्यस्त रहेको छ । तर एउटा तथ्य के निश्चित छ भने स्पेनी फुटबलमा प्रतिभाको कुनै कमी छैन्, यसमा ढुक्क भए हुन्छ । युरो र ओलम्पिकमा स्पेनी टिमको प्रदर्शनले पनि यो तथ्यलाई स्थापित गरेको छ । त्यसैले यसपल्टको ला लिगा नयाँ खेलाडीको सिजन हुन सन सक्छ ।
एउटा अर्को तथ्य के पनि हो भने खेलाडी स्थानान्तरणमा तीन साता भन्दा केही कम समय बाँकी छ । यसबीच धेरै युवा स्पेनी खेलाडी अन्यत्र पनि जान सक्नेछन् । उपाधिको होड भने फेरि एकपल्ट पारम्परिक नै हुनेछ र यसमा सम्मलित हुने क्लब उही हुनेछन्, दुई मड्रिड क्लब, एटलेटिको र रियल । अनि बार्सिलोना ।
आर्थिक समस्याकै कारण रियल र बार्सिलोनाले स्टार खेलाडीलाई किन्न सकिरहेको मात्र छैन्, रियलकै कुरा गर्ने भने उसले पनि कप्तान गुमाएको छ । सर्जियो रामोस पनि मेस्सी जस्तै पीएसजी गएका छन् । यी दुवै क्लब खालि फ्रि–ट्रान्सफरमा आउने खेलाडीको मात्र प्रतीक्षामा रहेको छ । एएफपी
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments