काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल भएका छन् ।
पीएसजीमा अनुबन्ध भएपछि मेस्सी पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन् । पीएसजीले मेस्सी बिहीबारबाट टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।
मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments