काठमाडौं । इङ्ल्याण्डका मिडफिल्डर फिल फोडिन चार साता मैदान बाहिर रहने भएका छन् । युरो कपको दौरान चोट बोकेका फोडिनले नयाँ सिजन प्रिमियर लिगको सुरुवाती खेल गुमाउने भएका छन् ।
२१ बर्षिया इङ्ल्याण्डका मिडफिल्डरले सिटीको तीन खेल गुमाउने सम्भावना छ । जसमा टोटेनहम, नर्विच सिटी र आर्सनलको खेल समावेश छ ।
उनले सेप्टेम्बरमा हुने विश्वकप छनोट अन्तर्गत हंगेरीविरुद्धको खेल पनि गुमाउन सक्नेछन् । ‘यो मेरालागि निकै कठिन हो । म जति सक्दो चाँडो मैदान फर्कन चाहन्छु ।’ उनले भनेका छन् ।
‘फाईनल अघि खुट्टामा चोट लाग्नु अजिब थियो । म प्रशिक्षण गरिरहेको थिए । यो घटना भयो । मैले मेरो खुट्टा घुमाएको थिए । योनै दुर्भाग्य रह्यो ।’ उनले थपे ।
उनी चार हप्तामा मैदान फर्कने विश्वास गरिएको छ । सेप्टेम्बर ११ मा लेस्टविरुद्ध उनले पहिलो प्रिमियर लिग खेल खेल्ने अनुमान गरिएको छ ।
पेप ग्वार्डिओलाले सिटीले केभिन डी ब्रोयनलाई समेत सिजनको सुरुवाती खेलमा गुमाउने बताइसकेका छन् । युरोकपमा क्वार्टरफाईनलमा इटालीसंग बेल्जियम पराजित बनेको खेलमा ३० बर्षिया मिडफिल्डरले चोट बोकेका थिए ।
गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने च्याम्पियन्स लिगको फाईनल पुगेको थियो । फोडिनले उपाधिको रक्षा गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘हामी प्रिमियर लिगको च्याम्पियन हुनुको नाताले यस सिजन अझ कठिन हुनेछ ।’ उनले थपे ।
‘हरेक टिम हामीलाई हराउन चाहन्छन् । हामीले हरेक खेलमा आफ्नो उत्कृष्ट दिनुपर्नेछ । जुन स्तर हामीले कायम राखेका छौं । हामीले गत सिजनकै प्रर्दशन दोह¥याउन कोशिश गर्नेछौं र उपाधि जित्न कोशिश गर्नेछौं ।’ फोडिनले भने । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २८ बिहिबार
Comments