पोखरा । आसन्न साफ च्याम्पियनसिप अगाडी नेपालले बंगलादेशसँग पनि मैत्रीपुर्ण खेल खेल्ने तयारी गरेको छ । बंगलादेश फुटबल संघले नेपाली टिमसँग मैत्रीपुर्ण खेलका लागि प्रस्ताव गरेको छ । यो खेल पोखरामा हुने संभावना छ ।
नेपालले सेप्टेम्बर दुई र ५ मा दशरथ रंगशालामा दुई वटा मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । यस्तै नेपालले बंगलादेशसँग सेप्टेम्बरको पहिलो साताको अन्तिममा पोखरा रंगशालामा खेल्ने योजना भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।
उनले रंगशालामा भारतसँग दुई खेल खेलेपछि बंगलादेशले प्रस्ताव गरेको र त्यो खेल पोखरामा खेलाएन की भन्ने छलफल भइरहेको बताए । सो खेल सेप्टेम्बर सात तारिखमा हुनसक्नेछ । किनकी त्यो भन्दा पछाडी एन्फासँग मैत्रीपुर्ण खेलमा लागि अर्को समय नभएको उनले बताए ।
हाल निर्माणाधिन पोखरा रंगशालाको अवस्था बुझ्नका लागि महासचिव इन्द्रमान तुलाधर र राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मुधसुधन उपाध्याय पोखरा गएका छन । उनीहरुले पोखरा रंगशाला पुगेर मैदानको तयारीका बारेमा बुझेका थिए ।
चेन्जिङ रुमको निर्माणको काम छिटो सक्न भनेका छौं, अवको १५ दिन भित्र दुई वटा चेन्जिङ रुम तयार भए बंगलादेश संगको मैत्रीपूर्ण म्याच पक्कै पोखरामा आयोजना हुन सक्ने तुलाधरले बताए ।
नेपाल सरकारको लगानीमा बनिरहेको पोखरा रंगशालामा खेलाडीको चेन्जिङ रुम र प्लेयर बक्स बन्ने क्रममा छ । यो काम दुई सातामा सकिने बताइएको छ । यस्तै एक पट्टी प्यारापिट पनि राखिएको छ ।
बंगलादेशसँगका खेल पक्का भएको खण्डमा नेपालले साफ अगाडी तीन वटा मैत्रीपुुर्ण खेल खेल्नेछ । सेप्टेम्बरको सुरुवाती १० दिन फिफाको मैत्रीपुर्ण क्यालेन्डरको विन्डोपनि रहेको छ । त्यहि समयमा नेपालले भारत र बंगलादेशसँग खेल्ने कार्यक्रम बनाएको हो ।
प्रकाशित मितिः २०७८ साउन २४ आइतबार
Comments