काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ ।
आसन्न साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिईएको हो ।
लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसंग केही समय बस्न अनुरोध गरेपछि खेलाडीलाई विश्राम दिइएको हो । साफ च्याम्पियनसिप समेत केही समय पछि सरेपछि खेलाडीले छुट्टी पाएका छन् ।
‘खेलाडीले समेत घरको सम्झना आएको बताए । साफ समेत केही समय धेकेलिएको छ । त्यसैले खेलाडीलाई अगष्ट १० मा फर्कने गरि बिदा दिईएको हो ।’ राष्ट्रिय टिमका एक सदस्य भने ।
उनले पूर्व तालिका अनुसारनै खेलाडीलाई विश्राम दिईएको बताए।
साफको तयारीमा रहेको नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन् ।
मुख्य प्रशिक्षकले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।
करिब १० दिनमा खेलाडीले समेत विश्राम पाउने र छानविन समेत टुङ्गो लाग्ने एन्फाको अपेक्षा छ ।
छानविनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अलमुताइरीले बताएका थिए । तर शनिबार मैत्रीपूर्ण खेलमा भने उनी मैदानमा देखिए । प्रत्येक शनिबार प्रशिक्षकले खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाउने गर्छन् ।
उनले शनिबार नीतिन थापा र पुजन उपरकोटी नेतृत्वको टिम मैदान उतारेका थिए ।
प्रकाशित मितिः २०७८ साउन १७ आइतबार
Comments