काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् ।
एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) ले ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय आवे हिफुमी (दाई) ले ६६ केजीमुनिको तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।
निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचार्डलाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेन्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् ।
हिफुमीले जर्जियाका भाझा मार्गभेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । उता यो तौल समूहमा स्वर्ण जित्ने पहिलो युवा खेलाडी बनिन् । हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने खेलाडी बने । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ११ सोमबार
Comments