काठमाडौं । टाइब्रेकरमा इटालीसँग पराजित भएपछि निराशामा रहेको इंग्ल्याण्डका खेलाडीहरुमाथि अनलाइन माध्यमहरुमा रंगभेदी व्यवहार भएको छ ।
पेनाल्टी सुटआउटमा चुक्ने खेलाडीहरुमाथि आक्रोशितहरुले रंगभेदी टिप्पणी गरेका हुन् । टाइब्रेकरमा इंग्ल्याण्डका मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् । तीन खेलाडी अश्वेत हुन् । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गरेका हुन् ।
पेनाल्टीमा चुक्ने तीनै खेलाडी अश्वेत रहेपछि उनीहरुमाथि अनलाइन माध्यममा रंगभेदी टिप्पणी भइरहेको छ ।
सोमबार बिहानै इंग्ल्याण्डको फुटबल एसोसिएसन ९एफए० ले वक्तव्य निकालेर खेलाडीमाथि भइरहेको रंगभेदी दुर्व्यवहारको निन्दा गरेको छ ।
एफएले सबै प्रकारका विभेदको कडा निन्दा गर्ने उल्लेख गरेको छ । सामाजिक सञ्जालमा आफ्ना केही खेलाडीमाथि भएको दुर्व्यहारबाट आफूहरु चकित भएको भन्दै एफएले त्यस्ता कार्यको गम्भीर निन्दा गरेको हो ।
दुर्व्यवहारमा संलग्नहरुलाई कडा कारवाही गर्न तथा खेलाडीको सुरक्षाका लागि सम्पूर्ण प्रयास गर्ने एफएले जनाएको छ ।
निर्धारित तथा अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
तीन खेलाडीले पेनाल्टीमा गोल गर्न नसकेपछि ५५ वर्षपछि प्रमुख उपाधि जित्ने इंग्ल्याण्डको सपना टुट्यो । इटालीले टाइब्रेकरमा ३–२ को नतिजा निकाल्दै उपाधि उचालेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २८ सोमबार
Comments