काठमाडौं । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ ।
वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।
प्रकाशित मितिः २०७८ असार २३ बुधबार
Comments