काठमाडौं । इटाली युरोकप फुटबलको उपाधि नजिक पुगेको छ । इंग्ल्यान्डको वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।
यस्तै, स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे भने डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २३ बुधबार
Comments