काठमाडौं । इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुई तथा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।
खेलको चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । त्यसपछि ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए ।
जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्क सेमिफाइनल पुगेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २० आइतबार
Comments