काठमाडौं । स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।
टाइब्रेकरमा जानु अघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।
तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १९ शनिबार
Comments