काठमाडौं । युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आजबाट सुरु हुँदैछ । नकआउट चरण अन्तर्गत आज राति दुई खेलहरु हुँदैछन् ।
पहिलो खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा वेल्स र डेनमार्कबीच हुनेछ । यी दुई टिमको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टिम उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका थिए । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
वेल्स समूह ए को उपविजेता तथा डेनमार्क समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।
दोस्रो खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रियाबीच हुनेछ । यी दुई टिमको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । इटाली विजेता र अस्ट्रिया उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका थिए । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
इटाली समूह ए को विजेता तथा अष्ट्रिया भने समूह सी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १२ शनिबार
Comments