काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलको उपाधि मुल्तान सुल्तान्सले जितेको छ । आबुधाबीमा बिहीबार राति भएको फाइनलमा पेशेवर जाल्मीलाई ४७ रनले हराउँदै सुल्तान्स च्याम्पियन बनेको हो ।
सुल्तान्सले दिएको २ सय ७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पेशेवर २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।
पेशेवरका शोयब मल्लिकले ४८ रन जोड्दा कमरान अकमलले ३६ रन बनाए । रोभम्यान पावेलले २३ रन जोडे । सुल्तान्सका इमरान ताहिरले ३ विकेट लिए । इमरान खान र ब्लेसिङ मुजराबानीले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुल्तान्सले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । सुल्तान्सका लागि सोहिब मक्सुदले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । रिली रस्सोले ५० रनको इनिङ्स खेल्दा सान मसुदले ३७ रन जोडे ।
कप्तान मोहमद रिजवान ३० रनमा आउट भए । पेशेवरका सामिन गुल र मोहमद इमरानले २-२ विकेट लिए । प्रतियोगितामा सुल्तान्सका मक्सुद प्लेयर अफ दि सिरिज चुनिए । कोरोना भाईरसको महामारीको कारण पीएसएलको बाँकी खेलहरु दुबईमा आयोजना गरिएको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ११ शुक्रबार
Comments