काठमाडौं । पोल्यान्डलाई पराजित गर्दै स्विडेन युरोकप फुटबलको समूह ई को समूह विजेता बनेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बुधबार राति समूह चरणको अन्तिम खेलमा पोल्याण्डलाई ३–२ ले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
स्विडेनका लागि इमिल फोर्सवर्गले दुई तथा भिक्टर क्लेसनले एक गोल गरे । यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
खेलको दोस्रो मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा फोर्सवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई २–० को अग्रता दिलाए । ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई २–१ को स्थितिमा ल्याए । ८४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई २–२ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा भिक्टरले गोल गर्दै स्विडेनलाई ३–२ गोलको जित दिलाए ।
जितसँगै स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १० बिहिबार
Comments