काठमाडौं । साविक विजेता पोर्चुगलले जारी युरोकपमा पहिलो हार ब्यहोरेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा पोर्चुगलले जर्मनीसँग ४–२ को हार ब्यहोरेको हो ।
जर्मनीका लागि काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे । यस्तै, पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा पोर्चुगलले खेलमा अग्रता बनायो । उसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे । ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफायलको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।
५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए । ६० औं मिनेटमा किमिचको पासमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि ६७ औं मिनेटमा पोर्चुगलका जोटाले रोनाल्डोको पासमा गोल गरेपनि जर्मनी ४–२ ले विजयी भयो ।
समूह एफ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।
पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०६ आइतबार
Comments