काठमाडौं । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा वेल्सले टर्कीलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
बुधबार राति भएको खेलमा वेल्सले टर्कीलाई २–० ले पराजित गदै नकआउट चरणको यात्रा बलियो बनाएको हो । वेल्सका लागि आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । दुवै गोल कप्तान ग्यारेथ बेलको पासमा भएका थिए ।
खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।
जितपछि वेल्सले नकआउट चरणको यात्रा निकै बलियो बनाएको छ । दुई खेलमा ४ अंक बनाएको वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्डसँग एक एक गोलको बराबरी खेलेको थियो ।
यता, यो हारपछि टर्की प्रतियोगिताबाट लगभग बाहिरीएको छ । उसले पहिलो खेलमा इटलीसँग ३–० ले हारेको थियो ।
प्रकाशित मितिः २०७८ असार ०३ बिहिबार
Comments