काठमाडौं । युरोकप २०२० अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगलले हंगेरीविरुद्ध सानदार जित निकालेको छ । पोर्चुगलले हंगेरीलाई ३-० को अन्तरले पराजित गरेको हो ।
यसै खेलबाट पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा केही रेकर्ड बनाएका छन् । हंगेरीविरुद्ध मैदानमा उत्रिएसँगै रोनाल्डो युरोकपमा सर्वाधिक ५ सिजन खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले युरोकपमा चार सिजन खेलेका १७ खेलाडीलाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् ।
युरोकपमा रोनाल्डोको रेकर्ड यतिमा मात्रै सीमित रहेन । उनले युरोकपमा सर्वाधिक समय खेल्ने खेलाडीको रेकर्ड पनि आफ्नै नाममा दर्ज गरेका छन् ।
सोमबार भएको खेलसहित उनले युरोकपमा २२ वटा खेल खेलिसकेका छन् । यो पनि आफैँमा रेकर्ड हो ।
यस्तै, हंगेरीविरुद्ध २ गोल गर्न सफल रहेका रोनाल्डोले युरोकपको गोलमा पनि रेकर्ड बनाएका छन् । पाँच सिजनमा ११ गोल गर्दै रोनाल्डो युरोकपको सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि फान्सका पूर्व खेलाडी माइसेल पाटिनी र रोनाल्डोले ९ गोलको समान रेकर्ड बनाएका थिए । रोनाल्डोले सन् २००४ को युरोकपमा २ गोल गरेका थिए । २००८ मा उनले १ गोल गरेका थिए । रोनाल्डोले २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए ।
२०२० सिजनको पहिलो खेलमा नै २ गोल गर्न सफल रोनाल्डोले थप खेलमा गोल थप्ने अनुमान गर्न सकिन्छ । हंगेरीविरुद्ध २ गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १०६ पुगेको छ । उनी अन्तर्राष्ट्रिय गोलमा रेकर्ड बनाउनबाट ३ गोलले पछाडि छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०२ बुधबार
Comments