काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ ।
कुवेत सिटी रंगशालामा भएको खेलमा शुक्रबार राति भएको खेलमा नेपालले अष्ट्रेलियासँग ३–० ले पराजित भएको हो ।
खेलको छैटौं मिनेटमा कप्तान म्याथ्यु लेकिले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले गोल गर्दै अष्ट्रेलियालाई ३–० को जित दिलाए ।
खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।
यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।
अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।
प्रकाशित मितिः २०७८ जेठ २९ शनिबार
Comments