काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।
जितसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७८ जेठ २१ शुक्रबार
Comments