काठमाडौं । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेज पुनः पूर्वक्लब लिभरपुल फर्किने चर्चा छ । लिभरपुलका पूर्वफरवार्ड जोसे इनरिकका अनुसार लिभरपुलले उरुग्वेका स्ट्राइकर स्वारेजलाई एन्फिल्ड भित्र्याउने तयारी थालेको छ ।
अघिल्लो वर्ष बार्सिलोनाबाट प्रतिद्वन्द्वी क्लब एथ्लेटिकोमा अनुबन्धित भएका ३४ वर्षीय स्वारेजले ला लिगामा उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । सन् २०२०–२१ को सिजन टोलीलाई उपाधि जिताउन सफल उनले ला लिगामा ३२ मध्ये २१ खेलमा जित दिलाएका थिए ।
डिएगो सिमोन नेतृत्वको टोलीसँग एक वर्षको सम्झौता बाँकी रहेको अवस्थामा लिभरपुलले उनलाई यसै समरमा भित्र्याउने तयारी गरिरहेको इनरिकको भनाइ छ ।
यसअघि स्पेनिस मिडिया ‘डिपोर्तस काउत्रो’ले लिभरपुलले स्वारेज अनुबन्ध गर्ने सम्भावनाबारे छलफल गरेको दाबी गरेको थियो । यस वर्षको सुरुआतमा नै लिभरपुलले स्वारेज भित्र्याउनेबारे छलफल गरिरहेको बताउँदै उक्त मिडियाले स्वारेज पनि यस विषयमा सकारात्मक देखिएको जनाएको थियो ,
पूर्वफरवार्ड इनरिकले पनि स्वारेज पूर्वक्लब लिभरपुल फर्किनु उपयुक्त रहँदै जर्गेन क्लोपका लागि उनी उत्तम विकल्प भएको समेत सुझाव दिएका छन् ।
‘स्वारेज एथ्लेटिकोमै बस्नेमा म पनि विश्वस्त छु, उनले सुरुआतदेखि भनिरहेका पनि छन्’, इनरिकले भने, ‘तर उनी वास्तवमा लिभरपुलका लागि भने राम्रो खेलाडी बन्ने छन् । तर मलाई लाग्दैन कि स्वारेजले त्यसो गर्नेछन् । उनी स्पेनमै खुसी छन् र उनी परिवार पनि स्पेनमै खुसी छन् ।’ एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १४ शुक्रबार
Comments