काठमाडौं । एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस सुआरेजले आफुलाई बार्सिलोनाले अवमूल्यन गरेको बताएका छन् । एट्लेटिकोलाई यस सिजनको ला लिगा उपाधि दिलाएपछि सुआरेजले बार्सिलोनाले आफ्नो महत्व नबुझेको बताएका हुन् ।
शनिबार राति सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको थियो । एट्लेटिकोलाई उपाधि दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरेका थिए ।
उपाधि जितेपछि निकै भावुक बनेका सुआरेजले गत वर्ष आफुले कठिन परिस्थितिको सामना गर्नु परेको बताए । मैले गत समरमा अनुभव गरेको परिस्थिति कठिन थियो । म अवमूल्यन भए, उनले भने, बार्सिलोनाले मलाई कुनै मूल्य दिएन। एट्लेटिकोले मेरो लागि ढोका खुल्ला गर्यो । मप्रति भरोसा राखेकोमा क्लबप्रति सधै आभारी छु ।
उरुग्वेका फरवार्ड सुआरेज गत वर्ष एट्लेटिको आएका थिए । एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर सुआरेजलाई क्लब भित्र्याएको हो । क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् । सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका थिए ।
यस सिजन क्लबलाई ला लिगा च्याम्पियन बनाउन सुआरेजले महत्वपूर्ण भूमिका खेले । उनले यस सिजन लिगमा २१ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ९ आइतबार
Comments