काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनको मैदानमा सुरुवाती दुई गोलको अग्रता बनाएपनि जोगाउन नसक्दा सिटी पराजित भएको हो । खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
दशौँ मिनेटमा जोआ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । ४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।
तर, ५० औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २-१ को स्थितिमा ल्याए । खेलको ७२ औं मिनेटमा एडम वेब्स्टरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा डानिल बुर्नले गोल गर्दै ब्राइटनलाई ३-२ को जित दिलाए । जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेको छ । ब्राइटन १५ औं स्थानमा रहेको छ । सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments