काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुने छ । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
काठमाडौंले दोसो क्वालिफायरमा बिहीबार ललितपुर सिटीलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल पुगेको हो ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट सुरु भएको एनएसएलमा ७टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रकाशित मितिः २०७८ जेठ १ शनिबार
Comments