काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुल २-१ ले अघि रह्यो ।
खेलको ४७ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए । ६८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३(२ को अवस्थामा ल्याए ।
तर, खेलको ९० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-२ को जित दिलाए । जितसँगै लिभरपुलले शीर्ष चारको आशा कायम राखेको छ ।
लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युनाईटेड ३६ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्को खेलमाएभर्टन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।
प्रकाशित मितिः २०७८ बैशाख ३१ शुक्रबार
Comments