काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा घरेलु मैदानमै लेष्टर न्युकासल युनाईटेडसँग ४–२ ले पराजित भएको हो ।
न्युकासलका लागि कलुम विल्सनले दुई तथा जोसेप विललक र पाउल दुमेटले एक एक गोल गरे । यस्तै, लेष्टरका लागि मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा जोसेपको गोलबाट न्युकासलले अग्रता बनाएको थियो । ३२ औं मिनेटमा पाउलले गोल गर्दै न्युकासललाई दोब्बर अग्रता दिलाए । ६४ औं मिनेटमा विल्सनले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । ७३ औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए ।
८० औं मिनेटमा लेष्टरका अल्ब्राइटनले गोल गर्दै खेल ४–१ को स्थितिमा ल्याए । त्यसपछि ८७ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई ४–२ को स्थितिमा ल्याएपनि हार भने जोगाउन सकेनन् ।
न्युकासलसँग पराजित भएपनि लेष्टर लिगको तेस्रो स्थानमा यथावत रहेको छ । लेष्टरले ३५ खेलमा ६३ अंक जोडेको छ । यस जितपछि न्युकासल लिगको १३ औं स्थानमा उक्लिएको छ । न्युकासलले ३५ खेलमा ३९ अंक जोडेको छ । न्युकासललाई रेलिगेसन हुनबाट जोगिन अब एक अंकको आवश्यकता रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार
Comments