काठमाडौं । इङ्ग्ल्यान्डका क्लबद्वय आर्सनल र लिभरपुलले समर्थकसँग माफी मागेका छन् । युरोपियन सुपर लिग इएसएल संस्थापक रहेका दुवै क्लबले नाम फिर्ता लिँदै माफी मागेका हुन् ।
मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत आर्सनलले माफी मागेको हो भने आजै लिभरपुलका मालिक जोन डब्लु हेनरीले माफी मागेका हुन् ।
प्रतियोगिताको चौतर्फी आलोचना भएपछि आर्सनल र लिरभपुसहित प्रिमियर लिगका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका थिए । गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
जसमा इङ्ग्ल्यान्डका सर्वाधिक ६, स्पेनका तीन, इटालीका तीन गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका थिए । संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो । उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको थियो ।
युइएफए र फिफाले इएसएललाई अस्वीकार गर्दै उक्त लिग खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दियो । यस्तै, फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताएको थियो ।
चौतर्फी विरोध भएपछि इङ्ग्ल्यान्डका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले नाम फिर्ता लिएका थिए । अब बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । मङ्गलबार मात्र अघिल्लो संस्करणको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले पनि उक्त लिग नखेल्ने घोषणा गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०८ बुधबार
Comments