काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा लाइपजिग होफेनहाइमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लाइपजिगले अंक बाड्नु परेको हो । खेलको अन्तिम समयमा लाइपजिगका युसुफ पाउलसेनले गोल गरेपनि गोलको मान्यता पाएन । भीएआर प्रविधिमा गोल गर्नु अघि युसुफले बल हातले रोकेको देखिएको थियो ।
यस बराबरीसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । लाइपजिगले २९ खेलमा ६१ अंक जोडेको छ । लाइपजिग दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको बायर्नको ६५ अंक रहेको छ । होफेनहाइम ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०४ शनिबार
Comments