काठमाडौं । पाहुना टोली पञ्जाव पुलिस विराटनगरमा जारी पाँचौ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
दोस्रो प्रि-क्वाटरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै पञ्जावले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
विराटनगर रंगशालामा भएको खेलको निर्धारित र थपिएको ३० मिनेटमा दुवै टिमबाट १-१ गोल भएको थियो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ८० औ मिनेटमा शक्ति राईले रुपन्देहीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै पाहुना टोलीले खेल बराबरीमा ल्यायो ।
जीतेन्द्र सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए ।
ट्राइबेकरमा शक्ति राई र गौरव श्रेष्ठले गोल गर्न सफल भए । आशिष गुरुङ र अजित गुरुङ चुक्दा गोर्खा ब्वाइजको यात्रा प्रि-क्वाटरबाटै समाप्त भयो ।
पञ्जावका सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदिप सिंहले जाली चुमाए । जीतसंगै पञ्जावले सेमीफाइनल प्रवेशका लागि ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार विराटनगर-११ र वेस्ट बङ्गाल बीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल साँझ साँढे ६ बजे सुरु हुनेछ ।
विराटनगर प्रतियोगिताको उद्धघाटन खेलमा सिक्किम युनाइटेडलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो ।
आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् । विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर-११, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब र संकटा रहेका छन् ।
विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले सहभागिता जनाएका छन् ।
बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने बैशाख ४ गते हुनेछ ।
प्रकाशित मितिः २०७७ चैत्र २८ शनिबार
Comments