काठमाडौं । ‘बजाज पल्सर त्रिदेशीय सिरिज’ क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणको लागि २० सदस्यीय टिम घोषणा गरेको हो।
आयोजक नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज क्रिकेट प्रतियोगिता आगामी वैशाख ४ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय सिरिजको लागि क्यानले छोटो समयको लागि मात्रै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ। चैत २४ गतेदेखि मात्रै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने क्यानले जानकारी दिएको छ।
बन्द प्रशिक्षणका लागि टिममा बोलाइएको खेलाडीहरुमा कप्तान ज्ञानेन्द्र मल्लसँगै पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम रहेका छन्। त्यस्तै, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी पनी टिममा परेका छन्।
सिरिज ‘डबल राउण्ड रोविन’मा सञ्चालन हुनेछ। अर्थात् एक देशले अर्को देशसँग दुई खेल खेल्नेछ। शीर्ष दुई देश फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। केही दिनअघि मात्रै मुख्य प्रशिक्षकको जिम्मा पाएको डेभ वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
प्रकाशित मितिः २०७७ चैत्र २२ आइतबार
Comments