काठमाडौं । सेयर बजारमा आइतबार कीर्तिमानी कारोबार भएको छ । साताको पहिलो दिन आइतबार पुँजीबजारमा नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढेको हो भने कारोबार रकम अहिलेसम्मकै उच्च हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो क्रममा १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार कित्ता सेयर कारोबारमा आए । यसअघि बिहीबार नेप्सेमा कारोबार रकमले नयाँ किर्तिमान कायम गरेको थियो । सो दिन बजारमा २ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएका थिए ।
सर्वाधिक कारोबारको कीर्तिमान कायम गरेको दिन नेप्से ४ दशमलव ८५ प्रतिशतले बढेर १५ सय ४ दशमलव १४ अंकमा पुगेको हो । अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमन हुने हल्ला चलेपछि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको लगानीकर्ताले बताए ।
नेप्से बढ्दा समूहगत परिसूचकतर्फ सबै समूह उच्च अंकले उकालो लागे । त्यसमध्ये ट्रेडिङ समू सर्वाधिक ८ दशमलव २५ प्रतिशतले बढ्दा बैंकिङ समूह पनि ७ दशमलव १५ प्रतिशतले बढ्यो । अंकका आधारमा जीवन बिमा समूह सर्वाधिक १ सय ९२ दशमलव ३६ अंकले बढ्यो ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments