भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि कुल २ अर्ब १३ करोड १० लाखको अनुमानित बजेट पेस गरेको छ ।
मंगलबार बसेको पाँचौं नगरसभामा उप प्रमुख रजनी जोशीले अनुमानित बजेट पेस गर्दै आयतर्फ १ अर्ब २२ करोड २४ लाख अनुमानित बाह्य आय रहेको छ भने आन्तरिक आयतर्फ ६२ करोड र नगद मौज्दात २८ करोड ८६ रुपैयाँसमेत रहेको छ ।
जसमध्ये संघीय सरकारबाट प्राप्त सःशर्त अनुदान, वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानतर्फ ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट ५ करोड रुपैयाँ आय हुने अनुमान छ । त्यस्तै राजस्व बाँडफाड र मालपोत कार्यालयबाट १३ करोड ८० लाख, सामाजिक सुरक्षा भत्ताबापत १७ करोड ६५ लाख रुपैयाँ, पूर्वाधार साझेदारी कार्यक्रम तथा सडक बोर्डकार्फत २ करोड रुपैयाँ, च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्रका लागि जापानी अन्तर्राष्ट्रिय चिकित्सक तथा प्राविधिक संस्था (जिम्टेड)बाट १ करोड १४ लाख र ऋण सहयोगबाट २५ करोड रुपैयाँ रहेकोे छ ।
त्यस्तै, व्ययतर्फ चालूतर्फ खर्चका लागि ९९ करोड ८० लाख र पुँजीगततर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ ।
नगरपालिकाले सबैभन्दा बढी सम्पदा संरक्षण तथा विकास निर्माणका लागि कुल बजेटको ३४ दशमलव २१ प्रतिशत अर्थात ७२ करोड ९१ लाख १० हजार बजेट छुट्याएको छ । त्यस्तै शिक्षाका लागि कूल बजेटको १४ दशमलव ४२ प्रतिशत अर्थात ३० करोड ७३ लाख ९६ हजार र स्वास्थ्यका लागि कूल वजेटको ११ दशमलव ९९ प्रतिशत अर्थात २५ करोड ५४ लाख ६२ हजार छुट्याएको छ । त्यसैगरि शैक्षिक ऋण कोषका लागि ४ करोड ९९ लाख ९० हजार, भक्तपुर महोत्सव गर्नका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी युवा तथा खेलकुदको लागि ५ करोड ५७ लाख, पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार, फोहर मैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
यस्तै, साँस्कृतिक पूवद्र्धनका लागि २ करोड ३० लाख, खानेपानी व्यवस्थापन तथा पाइप सुधारका लागि ३ करोड ८१ लख, कृषि तथा पशु सेवाका लागि १ करोड ६४ लाख, जग्गा तथा भवन खरिदका लागि ५ करोड ५० लाख, देको जिवा इटापाके जग्गा एकीकरण आयोजनाका लागि २५ करोड, सवारी साधनका लागि ८० लाख, मेशिनरी औजारका लागि २ करोड र पुँजीगत अनुसन्धान तथा परामर्शका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरुको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रति महिना ४००० रुपैयाँका दरले नगरपालिकाको आफ्नै स्रोतबाट व्यहोर्ने बस्दोबस्त गरिएको छ भने नगरपालिकाका कर्मचारीहरुलाई खाजा खर्चबापत प्रतिव्यक्ति प्रति महिना ५०० रुपैयाँ थप गरिने छ ।
चालु आर्थिक वर्षका लागि कुल आम्दानी १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ अनुमान गरिएकोमा २०७६ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब ३५ करोड ४६ लाख २ हजार ४३३ रुपैयाँ भएको उपप्रमुख जोशीले जानकारी दिइन् ।
चालु आर्थिक वर्षको जेठ महिनासम्म चालु तथा पुँजीगततर्फको यथार्थ व्यय ९८ करोड ८७ लाख ३१ हजार ७०२ रुपैयाँ रहेको जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments