काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा अब श्रम स्वीकृतिका लागि लाइन बस्न नपर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालयले आजदेखि अनलाइन टोकन सेवा सुरु गरेपछि लाइन बस्न नपर्ने भएको हो ।
श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आइतबारदेखि लागू हुनेगरी टोकन प्रणालीबाटै नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिएको छ । विभागका अनुसार अब वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफइआइएमएस बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने छ ।
वैदेशिक रोजगार कार्यालयले जनाएअनुसार एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाइने छ ।
कार्यालयका प्रमुख युवराज खतिवडाले तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । यस्तो सेवाका लागि सेवाग्राही आफंैले फाराम भर्न सक्नेछन् ।
सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments