काठमाडौं । काठमाडौंः सामसुङ कम्पनीले तेब्बर रियर क्यामरा भएको स्मार्टफोन बजारमा ल्याएको छ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले डुअल रियर क्यामरापछि तीनओटा क्यामरा भएको स्मार्टफोन ग्यालेक्सी ए ७ बजारमा ल्याएको हो ।
उसको पोर्टफोलियोमा रहेको तीनओटा क्यामरा भएको पहिलो स्मार्टफोन हो । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीबाट बढिरहेको प्रतिस्पर्धाका कारण सामसुङले यस्तो कदम चालेको हो । यसमा रहेको तीनओटा क्यामरामा विभिन्न किसिमका लेन्सहरू छन् । यसमा ८ मेगापिक्सलको वाइड एङ्गल लेन्स, २४ मेगापिक्सल लेन्स र डेफ्थ लेन्स छन् ।
मिड रेञ्ज ग्यालेक्सी ए ७ स्मार्टफोनमा ६ इञ्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले छ भने यसमा फिङ्गरप्रिण्ट स्क्यानर साइडमा छ । अक्टाकोर प्रोसेशरमा चल्ने यो स्मार्टफोनलाई दुईओटा मेमोरी भेरियण्टमा विक्री गरिने भएको छ । एउटा भेरियण्टमा ४ गिगाबाइट र्यामसहित ६४ गिगाबाइट इण्टरनल मेमोरी छ भने अर्कोमा ६ गिगाबाइट ¥यामसहित १ सय २८ गिगाबाइट इण्टरनल मेमोरी दिइएको छ ।
माइक्रोएसडी कार्डको माध्यमबाट यसको मेमोरी ५ सय १२ गिगाबाइटसम्म बढाउन सकिन्छ । हाल सामसुङले यो स्मार्टफोनको मूल्य निर्धारण गरिसकेको छैन । यो केही दिनमा यूरोप तथा एशियाली बजारमा उपलब्ध हुने र अन्तरराष्ट्रिय बजारमा पनि यसलाई छिट्टै सार्वजनिक गरिने तयारी भएको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments