भक्तपुर, ६ बैशाख । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आठ करोडको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल तथा विभिन्न मनोरञ्जनात्मक बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घरलगायत बालबालिकाका लागि खेल सामग्री राखिएको थियो ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेका मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।
त्यसैगरी, मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानका स्टल थिए । मेलाको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले मेलाको समापन गर्दै यस प्रकारको मेलाले भक्तपुरका बासिन्दालाई धेरै राहत मिलेको बताए ।
Comments